काठमाडौं ।
यातायात मजदुरलाई पनि कोरोना भाइरसले प्रभाव पारेको भन्दै आफूहरुले पनि राहत पाउनुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटि उनीहरुले सरकारले अन्य मजदुरलाई राहतको घोषणा गरेको तर यातायात मजदुरले राहत नपाएको भन्दै राहतको व्यवस्था गर्न माग गरेका हुन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङलाई भेटी मजदुरले राहत नपाएको विषयमा पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
चैत ११ गतेदेखि जारी लकडाउन अझै लामो समय हुनसक्ने भएकाले दैनिक ज्याला लिएर काम गर्ने देशका करिब साढे दश लाख यातायात मजदुरहरु (चालक, सहचालक, परिचालक, बुकिङ, लोडअनलोडर, कर्मचारी) ठूलो मारमा परेको र श्रमिकका परिवार विचल्ली परेको अध्यक्ष राईले बताएका छन् ।

संगठनले राहत फारमलाई सरलीकरण गरी सम्पूर्ण श्रमिकहरुले राहत पाउने ग्यारेन्टी गरिनुपर्ने, विभिन्न सहरहरुका रोकिएर रहेका श्रमिकहरुलाई आवास र खाद्यान्नको प्रबन्ध गरिनुपर्ने तथा अतिअत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारी साधनका श्रमिकहरुको सुरक्षाका लागि पीपीई र प्रोत्साहन भत्ताको व्यवस्था गर्न पनि माग गरेको छ ।
यसैबीच कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिमा यातायात मजदुरका सरोकारका विषयमा छलफल गर्ने मन्त्री नेम्वाङले जनाएका छन् ।





























प्रतिक्रिया