भक्तपुर ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपालमा जारी लकडाउनका कारण पशुपालन किसान निकै पीडामा परेका छन् ।
उपत्यकामा उन्नत जातका गाई व्यावसायिकरूपमा पाल्नेको सङ्ख्या उल्लेख्य रहेको बेलामा कोरोना प्रभावका कारण पशुलाई खुवाउने दानादेखि पशुआहारको अभाव र दूध बिक्री नहुँदा किसान दोहोरो मारमा परेका हुन् । दूध उत्पादनका लागि घरमा केही गाई पाल्ने साना किसानभन्दा पनि करोडौं खर्चेर व्यावसायिकरूपमा गोठ (फार्म) सञ्चालन गरेर गाई पाल्ने किसानलाई यतिखेरे गाई पाल्नु न छोड्नु भएको छ ।

चाँगुनारायण नगरपालिका–२ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले ठूला व्यावसायिक पशुपालकहरु यतिखेर निकै मारमा परेको बताए । नेपाल डेरी फार्मस् एशोसिएशनका अध्यक्षसमेत रहेका पन्तको झौखेलस्थित गोठमा ९० वटा उन्नत जातका गाई छन् । तर गोठमा गाईलाई खुवाउने कुरा नभएपछि बचाउन मुस्किल परेको छ । लकडाउनका कारण आवश्यक दाना, दाना उत्पादन गर्ने कच्चा पदार्थ र भुसा आयात नभएपछि उपत्यकाका अधिकांश पशुपालक व्यवसायी निकै मर्कामा परेको उनको भनाइ छ ।
दुई/चार गाई पाल्ने साना किसानलाई दैनिक खुवाउन घाँस तथा पिठो, ढुटोको समस्या कम भए पनि व्यावसायिकरूपमा गाई पाल्नेका लागि ठूलो समस्या भएको छ । साना किसानको दूध स्थानीयस्तरमा बिक्री गर्ने, दही तथा घ्यू बनाउने गरे पनि ठूला किसानको दूधसमेत बिक्री गर्ने ठाउँ नहुँदा उत्पादन नै घटाउनु परेको छ । अध्यक्ष पन्तले भने, “खुवाउने कुरा नै नभएपछि दूध उत्पादन पनि घटाएका छौं, उत्पादन भएको दूध पनि बिक्री गर्न सकेका छैनौँ, सबै दूधलाई पनिर, घ्यू बनाउन उद्योग नै चाहिन्छ, फार्ममा सम्भव हुन्न, हामी किसान निकै मर्कामा प¥यौँ ।” आफ्नो गोठका गाईबाट ६०० देखि ७०० र अन्य साना किसानबाट उठाउने करिब ३०० गरी दैनिक ९०० लिटर दूध बिक्री गर्दै आएका पन्तले लकडाउनपछि साना किसानको दूध लिन छाडेका छन् भने आफ्ना गोठमा पनि दूध उत्पादन घटाएर २०० लिटरमा झारेका छन् । उनले भने, “एकातिर खानेकुरा नभएर दूध घटेको छ, अर्कोतिर दूध बिक्री गर्ने ठाउँ नभएपछि उत्पादन नै घटाएका छौँ ।”

सुन्दरीजलका बाबुराम कार्कीको पीडा त झन् ठूलो छ । गोठमा २८८ उन्नत जातका गाई छन् । तर खानेकुरा नहुँदा नुनपानी खुवाएर बचाउनु परेको छ । उनका अनुसार लकडाउनपछि सर्लाही, बारा, पर्सा, रौतहटबाट भुसा आउन छाडेको छ, दाना उद्योग बन्द छन् । अलिअलि दाना र घाँस पाइए पनि निकै महङ्गो छ, न औषधि छ, न प्राविधिक छन्, उपत्यकामा चरन क्षेत्र छैन । “भोकले गाई कराएको सुन्दा मन भारी हुन्छ, आँखा रसाउँछ”, आफ्नो पीडा सुनाउँदै उनले भने, “यस्तै अवस्था रहे अब पलायन हुनुको विकल्प छैन, गाईलाई नुनपानी मात्रै खुवाएर कहिलेसम्म बचाउनु, कम्तीमा दाना र भुसा मात्रै आउन सकेको भए पनि गोठका गाई भोकै त हुँदैनथे ।”
ऋणको साँवाब्याज कसरी तिर्नेभन्दा पनि गाई कसरी बचाउने भन्ने चिन्ताले निकै पिरोल्छ उनलाई । दैनिक एक हजार ५०० लिटर दूध बिक्री गर्दै आएका कार्कीले अहिले कतिपय गाईले दूध दिनै छाडेको र कतिपयले थोरै दूध दिने गरेको बताए।

कतिपय मिठाई पसल र होटल बन्द भएपछि बजारमा दूध खपत हुन छाडेको छ । चाँगुनारायण–९ ताथलीमा ३५ गाईसहित बाख्रापालन गर्दै आएका एशोसिएशनका सचिव भानु पराजुलीको गुनासो पनि उस्तै छ । दैनिक २०० लिटर दूध उत्पादन गर्दै आएको उनले उत्पादित दूधलाई घरघरमा बिक्री गरिरहेको भएपनि गाईलाई खुवाउने कुरा नहुँदा सास्ती खेप्नुपरेको बताए। आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउँदै उनले यस्तै अवस्था रहे उपत्यकाबाट व्यावसायिक गाई पाल्नेहरु पलायन हुने बताए ।रासस





























प्रतिक्रिया