किसानको बारीमै सुक्दै तरकारी, काठमाडौंमा छोइ नसक्नुको महंगो

किसानको बारीमै सुक्दै तरकारी, काठमाडौंमा छोइ नसक्नुको महंगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै १६ दिनदेखि देश लकडाउनमा रहेको छ । यसले गर्दा यातायातका सवारीसाधन तथा आवातजावतमा रोक लगाइएको छ । यसरी रोक लगाउँदा अहिले तरकारी तथा फलफूल व्यवसायमा पनि असर परेको छ ।

यसको असरले तरकारी खेती गरिरहेका किसानहरु अझ धेरै पीडित बनेका छन् । उपत्यकाका अधिकांश पसलहरु बन्द छन् । यसले गर्दा किसानले लगाएको तरकारी बजारसम्म लैजान नपाउदा तरकारी किसानको खेतबारीमा नै सुक्न तथा कुहिन थालेको छ ।

विभिन्न ठाउँमा रहेका तरकारी बजार तथा खुद्रा पसलमा भने उपभोक्ताहरुले तरकारीमा चर्को मूल्य तिर्नु परेको बताएका छन् ।
मङगलबार कालिमाटी बजारमा सेतो मूलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो थियो तर उपभोक्ताका लागि भने ललितपुर महालक्ष्मी नगरपालिका १ र २ वडाको खुद्रा तरकारी पसलमा ५० देखि ६० रूपैयाँ तोकिएको थियो ।

लकडाउनले गर्दा बजारमा तरकारीको आपूर्ति हुन तथा बाहिरबाट ल्याउन नसकेकाले तरकारीको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

कालीमाटीमा गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सीमी प्रतिकेजी २० रूपैयाँ छ तर उपभोक्ताका लागि भने यहाँका पसलमा ४० देखि ५० रूपैयाँ तोकिएको छ। कालीमाटीको थोक मूल्य हरियो खुर्सानी ७५ देखि ८५ रूपैयाँ प्रतिकिलो छ । उपभोक्ताका लागि भने पाउको ५० देखि ६० रूपैयाँ छ । डल्ले च्याउ कालीमाटीमा २ सय ५० रूपैयाँ छ तर उपभोक्ताका लागि ४ सय ५० तोकिएको छ।

लकडाउनले गर्दा उपभोक्ताहरु धेरै टाढासम्म तरकारी किन्न जान नसक्ने भएकाले जति मूल्य भएपनि तिरेर खानु परेको एक उपभोक्ताले बताए । अहिले बजार क्षेत्रमा भन्दा पनि भित्री सडक क्षेत्रमा उपभोक्ताले महंगो मूल्य तिरिरहेका छन् ।

अहिले उपत्यकाका विभिन्न स्थानमा एउटै तरकारीको मूल्य फरकफरक तथा पसलले आफू खुशी मूल्यमा बेच्दै उपभोक्ता ठगीरहेका छन् । ललितपुरको इमाडोलमा ७० रुपैयाँमा पाइने टमाटर काठमाडौंको काँडाघारीको खुद्रा पसलहरुमा ८० रुपैयाँ सम्म रहेको छ ।

उपत्यकामा मात्रै दैनिक करिब १ हजार ३ सय टन तरकारी र ४ सय टन फलफूल खपत हुने गरेकोमा अहिले खपतमा करिब दुई तिहाईसम्मले कमी आएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।

अहिलले उपत्यकाका भक्तपुर, ललितपुरका किसानको तरकारी खेतमै सुक्न थालेको बताइन्छ । “किसानको खेतबारीमा काँक्रा, करेला, घिरौंला, रायोको साग बोटमा नै फूल खेलेको , भ्यान्टा, घिउसिमी टिप्न हुने बेला शुरु भएको छ । तर बजार सञ्चालनमा नआउँदा ठूलो परिमाणमा तरकारी खेर जाने गरेको छ ।

बजारमा माग घटेको र ढुवानीको समस्याका कारण किसानको तरकारीले बजार नपाएको केन्द्रीय तरकारी तथा फलफूल उत्पादक संघका अध्यक्ष विनोद पराजुलीले बताए । तरकारी उत्पादक किसान, बजार र उपभोक्ताबीचको अन्तर्सम्बन्ध टुट्दा किसानको तरकारी खेर जाने र बजारमा अभाव हुने स्थिति सिर्जना भएको उनको भनाइ छ।

Logo