काठमाडौँ ।
वाणिज्य बैंकहरुले आधारदर (वेस रेट) घटाउने सहमति गरेका छन् । नेपाल राष्ट्र बैंकले बेस रेट घटाएपछि वाणिज्य बैंकहरुले पनि घटाउने सहमति गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘राष्ट्र बैंकले १ प्रतिशत वेसरेट घटायो, त्यसैले हामीले पनि घटाउने सहमति गरेका हौँ ।’ अध्यक्ष दाहालले भने ।
वेसरेट (आधार दर) निर्धारण गर्दा निक्षेप लागत वा कोषको लागत सबैभन्दा महत्वपूर्ण हुने गर्छ तर संचालन खर्च बापतको लागत, शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, वैधानिकता, तरलता अनुपात कायम गर्दाको लागत र लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल कर्जाको आधार दरका मूख्य तत्वहरु हुन् । बैंकहरुले आधार दर घटाउने वित्तिकै कर्जाको पनि ब्याजदर घट्छ ।
कर्जाको ब्याजदर घटाउने उद्देश्यले वेसरेट घटाउने सहमति गरेको अध्यक्ष दाहालले बताए । बैंकहरुको आधार दर फरक फरक हुन्छ । तर सबै बैंकहरुले घटाउन निर्देशन समेत दिएको उनले बताए । ‘लोनको ब्याज दर घटाउन आधार दर घटाउनुस् भनेका छौँ ।’अध्यक्ष दाहालले भने ।
बैंकर्स संघले १५ महिना अघि ब्याजदर घटाउने भद्र सहमति गरको थियो । कर्जामा कति ब्याजदर घट्छ भन्ने तय भने भएको छैन । कर्जासहित निक्षेपको पनि ब्याजदर घट्दैछ ।
वाणिज्य बैंकहरुबीच साधारण बचतको ब्याजदर बढीमा ५.५ प्रतिशतसम्म दिन सक्ने गरी सहमति भएको छ । त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने सहमति समेत भएको संघले जनाएको छ ।
यसअघि बैंकहरुले बचतको ब्याजदर ६.५ प्रतिशतसम्म दिँदै आएका थिए । यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ९.७५ प्रतिशतसम्म र संस्थागत मुद्दतीमा ९.५ प्रतिशतसम्म ब्याज दिनसक्ने भद्र सहमति थियो । यी दुवैको रेट घटाएर क्रमशः ८.२५ र ७ प्रतिशत कायम गर्न लागिएको हो । बैंकरहरुबीच सहमति भएको नयाँ ब्याजदर बैशाख १ गतेदेखि लागू हुने बताइएको छ ।
राष्ट्रबैंकले कोरोना भाइरसको प्रकोपका कारण संकटमा परेको बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई राहत दिन १९ बुँदे विशेष राहत प्याकेज ल्याएको थियोे । कोरोनो संक्रमणको अवस्था केही सहज भएपछि देशको अर्थतन्त्र जोगाउन, निजी क्षेत्रहरुका लागि सहज अवस्था सिर्जना गर्न बैंकरहरुबीच ब्याजदर घटाउने सहमति बनेको संघले जनाएको छ ।





























प्रतिक्रिया