काठमाडौं ।
अहिले नेपालभरी नै लकडाउनको अवस्था छ । सरकारले गत चैत ११ गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई अझै कडा पारिने निर्णय गरेको छ भने लकडाउनको समय अझै थपिन सक्ने सम्भावना रहेको छ ।
कोरोना संक्रमण फैलिने सम्भावना बढ्दै गएपछि सरकारले संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो को रोकथाम र निर्मूल गर्न चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । संक्रमक रोग ऐन, २०२० को दफा २ मा नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रमक रोग निर्मुल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आवश्यक अधिकार सुम्पन्न सक्नेछ भन्ने उल्लेख गरेको छ ।
सो ऐनमा यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अवहेलना गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था छ । त्यस्तै, अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् ।
यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै कोरोना पीडित मुलुकहरुले ‘लकडाउन’ घोषणा गरिसकेका छन् । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना नियन्त्रण गर्न चीनले नै सो क्षेत्रमा कडा ‘लकडाउन’ घोषणा गरेको थियो । सो अवधीमा चीन सरकारले त्यसबेला सम्पूर्ण यातायातका साधनहरुमा रोक लगाएको थियो । त्यसका साथै सबै मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको थियो ।
त्यसैगरी इटालीमा पनि ‘लकडाउन’ गरिएको छ । इटाली कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित भएको मलुक हो । इटाली सरकारले आफ्ना ६ करोड नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएको छ । सरकारले लकडाउनको निर्देशन उल्लंघन गर्नेलाई तीन महिना जेल सजाय तोकिएको छ ।
त्यसैगरी, स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्ररुपमा वृद्धि भएपछि ‘लकडाउन’ घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले मानिसहरुलाई घरबाहिर निस्किन रोक लगाएको र अत्यावश्यक बाहेक कुनै पनि भेटवार्ता नगर्न आग्रह गरेको बताएका छन् ।
त्यसैगरी, साउदी अरेविया, फ्रान्स, अष्ट्रेलिया र न्युजील्यान्ड लगायतका मुलुकहरुमा पनि मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाइएको छ ।
भारतका विभिन्न राज्यहरुमा ‘लकडाउन’ र जनता कर्फ्यू कायमै राखिएको छ । लकडाउनको मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । लकडाउन कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भनेर अपनाइने सुरक्षा नीति हो ।





























प्रतिक्रिया