आजको मन्त्रिपरिषद् बैठकमा पनि परेन गभर्नर नियुक्तिको एजेण्डा

आजको मन्त्रिपरिषद् बैठकमा पनि परेन गभर्नर नियुक्तिको एजेण्डा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन् । तर नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको एजेण्डा भने आजको मन्त्रिपरिषद्को बैंठकमा पनि पर्न सकेको छैन । सरकारले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा तीन सदस्यीय गभर्नर छनोट समिति गठन गरेको थियो । सो समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्यको रुपमा रहेका छन् । सो छनोट समितिको बैठक बस्न नसक्दा गभर्नर नियुक्तिको एजेण्डाले प्रवेश नपाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि लकडाउनपछि मात्रै गभर्नर नियुक्त गरिने जनाएका थिए ।

गभर्नरको पाँच वर्षे कार्यकाल सकेर डा.चिरन्जीबि नेपाल चैत्र ५ गते बिदामा बसिसकेका छन् । अहिले कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई दिइएको छ । राष्ट्र बैंक ऐन २०५८ मा गभर्नरको पद रिक्त हुनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गरिसक्नु पर्ने प्रावधान छ । तर ढिलो गरी बनाएको छनोट समितिको पनि बैठक बस्न नसक्दा गभर्नर नियुक्तिको एजेन्डाले प्राथमिकता पाउन नसकेको समितिका सदस्य कृष्णहरि बाँस्कोटाले बताए ।

समितिले नयाँ गभर्नर सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने व्यवस्था छ । जसमा एकजना राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्छ । समितिले अन्तिम तीन जनाको नाम सिफारिस गर्छ । ती तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्ने राष्ट्र बैंक ऐनमा व्यवस्था गरिएको छ ।

Skip This
Skip This
Logo