‘आवश्यक परे उपभोक्ताको घरघरमा अत्यावश्यक वस्तुको डेलिभरी’

‘आवश्यक परे उपभोक्ताको घरघरमा अत्यावश्यक वस्तुको डेलिभरी’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले पूर्णतः देश लकडाउन गरेको छ तर यो बेलामा पनि अति आवश्यक वस्तुको आपूर्ति नरोकिने भएको छ।

सरकारले आज देखि १८ गतेसम्मका लागि गरिएको लकडाउनका कारण विहान देखिनै सहरका सडक, चोक गल्ली सबै सुनसान भएका छन् । अत्यावश्यक कामबाहेक कोहि पनि बाहिर निस्किएका छैनन् ।

सरकारले चैत १० गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडानदेखि लामो दुरीको सवारी साधन सञ्चालनमा रोक लगाउने र अत्यावश्यक बाहेक सबै सरकारी तथा निजी कार्यालयहरु बन्द गर्ने गरी निर्णय गरेको थियो ।

सरकारले देश लकडाउन गर्दा सर्वसाधारण जनता घर भित्र थुनिएका छन् । यसले गर्दा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, नुन तेल ग्यास खरिद गरी नराखेकाहरुका लागि केही समस्या भएको छ ।

बजार लकडाउनले बन्द भएको छ तर, सरकारले भने देश पूर्णतः लकडाउनको अवस्थामा रहेता पनि अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था र वितरण प्रणालीमा समस्या नआउने बताएको छ ।

लकडाउनकै अवस्थामा पनि सरकारी खाद्यान्न तथा आपूर्ति सम्बन्धी संघ संस्थानहरु र वितरक विक्री केन्द्रहरु खुल्ला रहने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् ।

उनका अनुसार लकडाउन भएको बेलामा पनि बजारमा खाधान्न अभाव हुँदैन । उनले भने , समस्याको घडीमा पनि सरकारले आफ्नो निकायहरुलाई सञ्चालनमा राख्छ । निजी क्षेत्र बन्द भएपनि सरकारले सार्वजनिक खाद्य संस्थानहरुमा बिक्री कक्षहरु खुल्ला नै राख्छ ।’

त्यसैले लकडाउनको अवस्थामा कसरी आपूर्ति व्यवस्था सहज पार्ने भनेर अहिले गृहकार्य भइरहेको र आवश्यक परे सरकारले उपभोक्ताको घरघरमा अत्यावश्यक वस्तुको डेलिभरीको व्यवस्था समेत मिलाउने उनको भनाइ रहेको छ।

बजारमा कुनै पनि दैनिक उपभोग्य वस्तु, ग्यास, तेल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन मन्त्रालयसँग गृहकार्य भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

योसँगै विषम परिस्थितिमा बजारमा हुन सक्ने कालोबजारी र अनियमिततालाई समेत मन्त्रालय, विभागले सँगसँगै अनुगमन गर्ने र दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।

यता, उपभोक्ताकर्मीहरु लकडाउनको विषम परिस्थितिमा सरकारले उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै तत्काल आपूर्ति व्यवस्था सहज बनाउनु पहिलो प्राथमिकता रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले भने, देशमा लकडाउन अगाडि नै लगाउनु पर्ने हो ढिला भयो तर सरकारले जे गरेको छ ठिक छ यसलाई सबैले पालना गर्नु पर्छ ।

औषधि, पानी, दुध लगायत अत्यावश्यक खाद्यवस्तुको आपूर्तिमा सरकारले सहज वातावरण बनाउनु पर्छ । सरकारको यस विषयमा केही कमजोरी रहेको उनको भनाइ रहेको छ ।

अहिले सरकारले औषधि, खाद्यान्न, पानी, दुध लगायतका अत्यावश्यक वस्तु खरिद गर्न चाहिँ बाहिर निक्लन सक्ने भनेको छ । तर पसलहरु नै खुल्ला छैन ।

असहज घडीमा खानेपानी, दैनिक उपभोग्य वस्तु लगायत सेवा सुविधाको अभावमा अर्को भयाभहको अवस्था आउन सक्ने भन्दै महर्जनले यस्तो संकटको परिस्थितिमा सरकारले अविलम्ब बजार व्यवस्थापन र आपूर्ति व्यवस्थामा ध्यान दिनुपर्ने बताएका छन् । लकडाउनको विषम परिस्थितिमा बजारमा केही व्यापारीले चरम कालोबजारी र अनियमितता गर्दा असल व्यापारीको बदनाम भएको उनले बताएका छन् ।

Skip This
Skip This
Logo