काठमाडौं ।
सरकारको निर्देशनपछि उपत्यकाका विभिन्न स्थानमा खोलिएको रिटेल आउटलेटमा आइतबार २५ सय १ थान ग्यास सिलिण्डर बिक्रि भएका छन । पसलमा अन्य दिनको जस्तो ग्यास किन्नेका लाइन समेत घटेको छ ।
कोरोना संक्रमणको त्राससँगै ग्यास स्टक गर्दा उपत्यकामा ग्यास अभाव हुदै आएको थियो । यही अभाव हटाउन वाणिज्य मन्त्रालयले उद्योगीलाई रिटेल आउटलेट खोल्न निर्देशन दिएको थियो ।
सरकारको निर्देशन अनुसार शनिबार आयल निगम र ग्यास उद्योग संघको छलफलपछि उपत्यकामा बिक्री हुने ग्यास कम्पनीको आउटलेट खोल्ने सहमति भएर आइतबार उपत्यकाको २० स्थानमा आउटलेट पसल मार्फत उपभोक्तालाई ग्यास बिक्रि गरिएको थियो ।
आउटलेट पसलमा सबैभन्दा बढी नेपाल र तारा ग्यास पाँच सय, सगर र चण्डी ग्यास तीन सय ५३ वटा, एभेरेष्ट १७९, सिद्धार्थ र हिमालको १४० गरी सबै आउटलेटबाट २५०१ वटा सिलिण्डर ग्यास बिक्रि भएका छन् ।
आइतबार खोलिएका आउटलेटमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, निगमका निर्देशक दीपक बराल, एल.पि ग्यास संघका अध्यक्ष गोकुल भण्डारी, निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरे र कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठले आउटलेटमा अनुगमन गरेका थिए ।
उनीहरुले आउटलेटमा गरेको स्थलगत अनुगमनमा उपभोक्ताको भीड अत्यन्तै कम रहेको बताएका छन् । ग्यास अभावको हल्ला मात्रै बढी भएको तर वास्तविकता अर्कै रहेको पाइएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताएका छन् ।































प्रतिक्रिया