दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार केही समय यता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ। अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उनले बताए । उनले भने, “कोरोनाका कारण प्रगति कम भए पनि अब सङ्क्रमण कम भएकाले विस्तारै बढ्न सक्छ।”

सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानु पर्नेछ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको उनले बताए ।

प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनु पर्छ भनी अनिवार्य गरिने तयारी भइरहेको उनले बताए। उनले भने, “यो मितिसम्म गर्नै पर्छ भनेर मात्रै धेरैले गर्नेछन् ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरु गरेका हुन् ।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्टकार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनु पर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नु पर्नेछ ।

सवारीको कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फारम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।रासस

Logo