खोटाङका बाँदर पीडित किसानद्वारा विरोध र्‍याली, बाँदरको परिवार नियोजन गराइदिन माग(भिडियोसहित)

खोटाङका बाँदर पीडित किसानद्वारा विरोध र्‍याली, बाँदरको परिवार नियोजन गराइदिन माग(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

खोटाङ।

खोटाङका बाँदर पीडित किसानहरु हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्‍यालीमा उत्रिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार कृषि औजार सहित र्‍याली प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध र्‍याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो ।

र्‍यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए । गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिकालाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । ती किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए ।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाएर हैरान पारे पनि हालसम्म नियन्त्रणको भरपर्दो विधि फेला नपरेकाले बाँदरलाई खोरमा थुन्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष घिमिरेले बताए । “बाँदरको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले अन्नपात जोगाउन सकिएन”, उनले भने “बाँदर मार्न पाइँदैन भने खोरमा थुनेर राख्ने व्यवस्था गरियोस्, त्यही दानापानी दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो ।”

०७५ फागुनमा सो समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुशीनगर उत्तरप्रदेशका पेसेवार शिकारी झिकाएर वडा नम्बर–५ लफ्याङस्थित छर्का, लुछिम लगायतका स्थानबाट बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानु अगावै समातेर राखेको राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो ।

बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण सो समितिले बाँदरलाई खोरमा थुन्ने र परिवार नियोजन गर्नुपर्ने आवाजसमेत उठाएका छन् । नगरपालिकाको दश लाख आर्थिक सहयोगमा गत वर्षको फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको थियो ।

किसानको मागपछि बाँदर समात्न आर्थिक सहयोग गरेको नगरपालिका यसपल्ट भने झट्ट सहयोग गर्न सक्ने अवस्थामा देखिएको छैन । दश स्थानीय तह रहेको जिल्लाका धेरैजसो ठाउँमा बाँदर आतङ्क रहेको छ । खेतबारीमा टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका विभिन्न बालीनालीसमेत बाँदरले विनाश गर्न थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाले चन्दा सङ्कलन शुरु गरेका छन् । हेरौं यो भिडियोमा :

Logo