खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी नराख्न सरकारको आग्रह

खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी नराख्न सरकारको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाको प्रभावले खाद्यान्नदेखि खाना पकाउने (एलपी) ग्याससमेत सर्वसाधारणले आवश्यकताभन्दा बढी मौज्दात राख्न लागेकाले यसरी मौज्दात नराख्न सरकारले अनुरोध गरेको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी बजारमा ग्यास लगायतका दैनिक उपभोग्य वस्तु अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढी ग्यास सिलिण्डर भरेर नराख्न आग्रह गरेको हो ।

सरकारले ग्यास आपूर्ति पर्याप्त मात्रामा गरि रहेकाले बजारको माग पूरा गर्ने समस्या नरहेको उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताएकी छिन् । अहिले अनावश्यक हल्लाको पछि लागेर खाना पकाउने एलपी ग्यासको स्टक राख्ने गर्न थालिएपछि यसरी मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा बजारमा ग्यासको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले नियमित खपतका लागि थप ११ हजार मेक्ट्रिक टन ग्यास सरकारले आयात प्रक्रिया अगाडी बढाएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

नेपाल आयल निगमले ‘बजारमा प्रशस्त मात्रामा ग्यासको आपूर्ति गर्ने र माग धान्नका लागि समस्या नहुने भएकाले आवश्यकताभन्दा बढी मौज्दात नराख्न भनेको हो । त्यस्तै, सरकारले यस्तो बेलामा कालोबजारी बढ्ने भएकाले मूल्यबृद्धी हुन नदिन मन्त्रालयले नियमितरुपमा बजार अनुगमनसमेत गरिरहेको जनाएको छ ।

सरकारले तीन दिन पहिले पनि ग्यास व्यावसायीहरुलाई नयाँ ग्यास सिलिन्डर नबेच्न अनुरोध गरेको थियो । अहिले पछिल्लो समय कोरोना भाइरसको प्रभावको कारण भन्दै बजारमा ग्याँस लगायत खाद्यानको अभाव हुन थालेकाले ग्याँस अभाव हुन नदिनको लागि नयाँ ग्याँस सिलिण्डर नबेच्न व्यावसायीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले अनुरोध गरेका थिए ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढिरहेकाले आम नागरिकहरूमा सन्त्रास फैलिएको छ । बजारमा ग्यास अभाव हुन नदिनका लागि नयाँ सिलिण्डर नबेच्न व्यावसायीलाई आग्रह गरेको अर्यालले बताए ।

Skip This
Skip This
Logo