ऊर्जामन्त्रीद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह

ऊर्जामन्त्रीद्वारा नेपालको विद्युत किन्न भारतलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गरे ।

‘अहिले हामी भारतबाट विद्युत खरिद गरिरहेका छौं’, सिंहदरबारस्थित मन्त्रालयमा भेट्न आएका भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधबार मन्त्री पुनले भने, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’ नेपाल विद्युत प्राधिकरण र भारतीय केन्द्रीय विद्युत प्राधिकरण (सीइए) बीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ। तर, उक्त सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत प्राधिकरणलाई विद्युत व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन । मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौता अनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गरे । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाए ।

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्टै सक्नुपर्नेमा जोड दिए ।

नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिन सक्ने मन्त्री पुनको भनाइ थियो।
नागरिकबाट

Logo