काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन् ।
कोरोना भाइरस (कोभिड-१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन् । राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए ।
‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उनले भने । केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताए । संकटकालनै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने उनले स्पष्ट पारे । उनले भने, ‘अहिले स्वेतपत्र आवश्यक छैन । त्यस्तो संकटकालनै घोषणा गर्नुपर्यो भने त्यती बेला स्वेतपत्र जारी हुन्छ ।’ कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन उनले आग्रह गरे ।
मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिवद्धता समेत जनाए । बजारमा माग अनुसार उत्पादन हुने सामानहरु एक्कासी माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक रहेको उनको भनाई छ ।





























प्रतिक्रिया