- अनिस मिजार
जब देशमा संकट पर्छ बजारमा अभाव सिर्जना हुन्छ, तब तब केही व्यापारीलाई कमाउने ठूलो मौका मिल्छ । देश अप्ठयारोमा परेका बेला वा दुःखमा अवसरको रुपमा व्यापारीले मौका छोप्ने प्रवृत्ति पुरानै हो ।
विनाशकारी भूकम्पका बेला होस् वा नाकाबन्दीका बेला । व्यापारीले त्यस्तै समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक कालोबजारी गर्ने गरेका छन् ।
चीनमा महामारीकै रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि फैलिन सक्ने र भारत तथा अन्य मुलुकबाट सामान आउन ठप्प हुने भन्दै केही व्यापारीलाई कमाउने अवसर मिलेको छ ।
विशेष गरी दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, तरकारी, फलफूल, औषधिमा व्यापक कालोबजारी बढेको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमिल्सेनाले बताए ।
कोरोनाको सन्त्रासपछि नेपालमा विलासिताका वस्तुको मूल्य र माग दुवै घटेको छ । विलासी वस्तु खरिद गर्नुको साट्टो त्यो पैसा बचत गर्न तर्फ उपभोक्ता लाग्छन् । तर, दैनिक उपभोग्य वस्तुको जति नै मूल्य बढे पनि नखाई सुख्खै हुँदैन । त्यही सामग्रीमा अहिले व्यापाक कारोबजारी भइरहेको छ ।
अहिले दैनिक उपभोग्य वस्तु नुनदेखि ग्यास किन्ने उपभोक्ताको पसल तथा डिपोमा भिड लाग्न थालेको छ । यो भिड कुनै उपभोग्य वस्तु तथा ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो । सरकारले कुनै पनि समान अभाव नहुने र आयात पनि रोकिने सम्भावना नरहेको भन्दै आए पनि उपभोक्ताहरू सरकारको भनाइलाई व्यवास्ता गर्दै खाद्यान्न र ग्यास आयात रोकिने र घरमा चुलो बाल्न नाकाबन्दीको जस्तै कठिन अवस्था आउने भन्दै खाद्यान्न तथा ग्यासका सिलिन्डर थुर्पान थालेका छन । यसले गर्दा व्यापारीले मौका छोपी कालोबजारी बढ्ने देखिएको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन । तर पूर्वसतर्कता अपनाउन सरकारले अनुरोध गर्दै सूचना गरिरहेको छ ।
यही बहानामा कालोबजारी मौलाउन थालेको देखिन्छ । त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन त अर्कातिर व्यापारीले फाइदा उठाउने गरेका छन । ग्यास पछिल्लो एउटा उदाहरण मात्र हो ।
यो भन्दा पहिला कुखुरा व्यापारीहरूले कुखुराका चल्ला खाल्डोमा खाडेर अण्डा फुटाएर २ सय ५० रुपैयाँ कीलोको मासु ४२० रपैयाँ पुर्याएको पनि ताजै छ । यसरी बेलाबेलामा व्यापारीहरूले उपभोक्तालाई ठग्दै आएका छन ।
बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने नेपालका व्यापारीहरूको प्रचलन नै भइसकेको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमलसिनाले बताए । ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहानामा दुःखलाई अवसरको रुपमा लिने गर्छन । उनले भने, ‘अहिले पनि कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ ।’
अहिले यही मौका छोपेर व्यापारीहरूले मास्क, सेनिटाइजर, पञ्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन । १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ ।‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन ।’ सरकारले स्पष्ट रुपमा भनेको छ तर उपभोक्ताहरू हल्लाकै पछि लागेको देखिन्छ ।
कोरोनाको बाहानामा बजारमा दैनिक उपभोग्य बस्तु, माक्सलागायत ग्यासको कृतिम अभाव गरी कालोबजारी गरेको पाइएमा तत्काल अनुगमन गरी कानूनअनुसार कारकाही गरिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।
कोरोनाको प्रभावमा कालोबजारी बढ्ने भएकाले अहिले बजार अनुगमनलाई तिव्रता दिएको छ । उनले भने‘बजार अनुगमन माक्सको लागीमात्र नभएर अब दैनिक उपभोग्य बस्तुहरूको पनि अनुगमन गरिरहेका छौं ।’अहिले कुनै पनि सामानको अभाव हुदैन । हल्लाको भरमा नलाग्न नहुने उनको भनाइ छ । व्यापारीले खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक हो तर,पछिल्लो समय व्यापारीहरूले माग बढ्नासाथ बस्तुको मुल्य दोब्बर/तेब्बर लिएर सामान बिक्री गर्न थालेको छन ।
नेपालमा खुला बजारको सिद्धान्तविपरीत बजार सञ्चालन भएको हुने गरेको छ । त्यसैले पनि jस्तुको माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुने भए पनि व्यापारीहरू अस्वाभाविक रूपमा वस्तुको भाउ बढाउने गर्दछन ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट लसुन आयात घट्नासाथ एक सय ३० रुपैयाँ किलोको लसुन मूल्य बढाएर सात सय ५० रुपैयाँसम्म पुर्याइएको थियो ।
यता सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ । उपभोग्य वस्तुको अनावश्यक भण्डारण गर्ने प्रवृत्ति मौलाएको भन्दै मन्त्रालयले शुक्रबार त्यस्ता वस्तुको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्थामा कुनै व्यवधान नरहेको स्पष्ट पारेको थियो ।
अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको मन्त्रालयले जनाएको छ । कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यबृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले कठोररुपमा प्रस्तुत हुने जनाएको छ ।





























प्रतिक्रिया