बन्दीपुर केबुलकारको काम तीव्र

बन्दीपुर केबुलकारको काम तीव्र

केन्द्रबिन्दु
0
Shares

तनहुँ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने,“परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।”

उनका अनुसार केबुलकारको टावरको खाल्डा खन्ने , पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । “केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्ने तयारी गरिएको छ,” उनले भने ।

केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चारतारे होटलको कामलाई पनि अगाडि बढाउन लागिएको छ । “केबुलकार बाहेक अन्य संरचना निर्माणका लागि केही समय लागे पनि पहिलो चरणमा केबुलकार सञ्चालनमा ल्याउने योजना बमोजिम कामलाई तीव्रता दिइएको छ,” लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले भने ।

माथिल्लो स्टेशनमा ८० करोडको लागतमा होटल निर्माण गर्नका लागि काठमाडौंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । उनका अनुसार २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले ९७ करोड ऋण दिने सहमति भएको छ ।

Logo