काठमाडौं ।
बैंकास्योरेन्स (बैंकमार्फत गरिने वीमा) मा विकृति बढेको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बन्द गरेको थियो । तर वाणिज्य बैंकहरूले चर्को लबिङ गरेपछि राष्ट्र बैंंकले बैंकास्योरेन्समा पुनरावलोकन गर्ने तयारी गरेको थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंकास्योरेन्सको पुनरावलोकन हुन्छ भन्ने ढुक्क थिए बैंकर्सहरु । तर राष्ट्र बैंकले भने बैंकास्योरेन्स सम्बन्धमा कुनै सम्बोधन नै गरेन । किन गरेन त राष्ट्र बैंकले बैंकास्योरेन्सको पुनरावलोकन ? प्रवक्ता गुणाकर भट्ट भन्छन् ‘केही निर्णय भएको भए त आउँथ्यो मौद्रिक नीतिमा ।’
तर उनले किन पुनरावलोकन भएन भन्ने बारे भने केही बताएनन् । अर्थमन्त्री डा.युवराज खतिवडाले कोर क्षेत्रले मात्रै सम्बन्धित काम गर्ने (बैंकले बैंककै काम र वीमाले वीमा गर्ने काम) भन्दै आइरहेकाले पनि बैंकास्योरेन्स पुनरावलोकन नभएको हुन सक्ने एक वीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
राष्ट्र बैंकले बैंकास्योरेन्स पुनरावलोकन नगरेपछि भने चर्काे लबिङ गरेर ढुक्क भएका बैंकर्स जिल्ल परेका छन् । बैंकास्योरेन्स मार्फत बैंकहरुले ठूलो रकम कमाउँदै आएका थिए । राष्ट्र बैंकले बन्द गरेसँगै बैंकको केही आम्दानी घट्ने बैंकर्सको भनाई छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले केही बैंकहरुले बद्मासी गरेका कारण रोकिएको बताए । ‘हाम्रा केही बैंकहरुले नै विकृति फैलाएर समस्या आएको हो ।’ उनले भने । बैंकास्योन्सका नाममा बैंकहरु वीमा गर्नमै बढी केन्द्रीत रहेको तथा विदेश लैजानेदेखि विभिन्न प्रकारका प्रलोभनहरु देखाउने गरेकाले समस्या आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाई छ ।
हरेक स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको नीतिका कारण यतिबेला अधिकांश स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखाहरु पुगेका छन् । जसरी मुलुकका हरेकक्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति छ, सोही रुपमा वीमा कम्पनीको उपस्थिति छैन । त्यसले गर्दा वाणिज्य बैंकहरुले मुलुकका कुना कुनामा वीमा सम्बन्धी सेवा दिन सक्छन् भन्ने उद्देश्यले बैंकलाई वीमा गर्ने काम दिइएको थियो । त्यसैमाथि सरकारले वीमालाई गाउँ गाउँ पु¥याउने लक्ष्य राखेको छ । त्यसलाई पनि टेवा पुग्ने गरी बैंकलाई बैंकास्योन्सको जिम्मा दिइएको थियो । बैंकास्योरेन्सबाट बैंक र वीमा कम्पनी दुवैको व्यापार बढेको थियो । तर बैंकहरुले आफ्नो जिम्मेवारी अनुसारको काम नगर्दा राष्ट्र बैंकले बन्द गरेको हो ।
यस्तो थियो बैंकास्योरेन्समा विकृति
बैंकास्योरेन्सका नाममा केही बैंकहरुले आम जनतामाझ विकृति फैलाएका थिए । उनीहरुले अप्रत्यक्ष रूपमा बिमा एजेन्टकै रूपमा काम गर्दै आएको राष्ट्र बैंकको भनाई छ । बैंकहरुले ग्राहकलाई जबरजस्ती बीमा गराउने, वीमा गर्न आफूले सिफासिस गरेको ठाउँमा नै जानुपर्ने तथा ग्राहकका खातामा पैसा छ भने आफैं वीमा गरेर खाताबाट पैसा काट्ने लगायतका काम गर्दै आएका थिए । बैंकिङ सेवा लिन आएका ग्राहकहरुलाई जबरजस्ती वीमा गराउन थालेपछि दिक्क भएको ग्राहकको गुनासो राष्ट्र बैंकमा पुगेको थियो ।
बैंकहरुले वीमा गराए बापत कमिसन पाउँदै आएका थिए । सो कमिशन बैंकको नाफामा गनिन्थ्यो । त्यस्तै, कर्मचारीहरुले इन्स्योरेन्सको कमिशनको लोभमा अफिसको कामै छाडेर वीमा गर्न हिडेको पनि आरोप लाग्ने गरेको छ । वीमा पोलिसी विक्रि गरेबापत बैंकका कर्मचारीले २ लाखको हाराहारीमा आम्दानी गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।































प्रतिक्रिया