काठमाडौँ ।
एशियाली विकास बैंक (एडिबी) द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ ।
एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्य अनुसार हुन नसकेको तर भुक्तानीमा भने उल्लेख्य सुधार भएको बैंकले सोमबार राजधानीमा गरेको वार्षिक समीक्षा बैठकमा सम्बद्ध पक्षले बताएका छन् ।
खानेपानी आपूर्ति तथा शहरी भौतिक पूर्वाधार विस्तार, ऊर्जा र यातायात क्षेत्रमा सर्वाधिक लगानी गरेको बैंकले सन् २०१९ मा पर्याप्त प्राविधिक दक्ष जनशक्तिको अभावमा लक्ष्य पूरा गर्न नसकेको उनीहरु बताउँछन् ।
कृषि, प्राकृतिक स्रोत तथा ग्रामीण विकास, शिक्षा, भूकम्पपछिको पुनःनिर्माण तथा वित्तीय क्षेत्रमा पनि लगानी रहेको बैंकले विगतका अनुभवबाट सिक्दै लक्ष्य प्राप्तिमा प्रतिबद्धताका साथ लाग्ने प्रण गरेको छ ।
बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको ठेक्का समयमा नै लगाउन नसक्दा लक्ष्य हासिल गर्न कठिन भएको, समयमा निर्णय नहुँदा र सम्बन्धित परियोजना तथा अन्तर्मन्त्रालय समन्वयको कमीले पनि वार्षिक लक्ष्य भेट्न नसकिएको स्वीकार गरे ।
परियोजना कार्यान्वयनमा विलम्ब नगर्ने, कुनै पनि समस्याको समाधान समयमै खोज्न परियोजनाका जिम्मेवार व्यक्तिबाट तत्काल प्रयास गर्नुपर्ने, कर्मचारी र परियोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धिका साथै उपलब्ध परामर्शदातृ निकायलाई सक्रिय तुल्याउन उनले सुझाव दिए ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका सक्रियतापूर्वक निर्वाह गर्ने तथा कुनै पनि समस्याको समाधानका निम्ति शीघ्र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्धारित समयमा परियोजना सम्पन्न गर्न सम्बद्ध सबैलाई इमानदारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरे ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकारबाट हरसम्भव सहयोग हुने आश्वासन दिँदै सार्वजनिक खरिद, वातावरणीय प्रभाव मूल्याङकन लगायत धेरै ऐनकानून संशोधन भइसकेकाले अब विगतको जस्तो पन्छिने परिपाटीबाट मुक्त हुनुपर्ने बताए ।
समीक्षा बैठकमा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका केही परियोजनालाई सम्मान पनि गरिएको थियो । समीक्षा बैठकमा यातायात तथा सञ्चार, दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास अन्तर्गत दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) सडक सुधार, सासेक राजमार्ग सुधार परियोजना, मानव तथा सामाजिक विकास अन्तर्गत विद्यालय क्षेत्र विकास योजना, विपत्तिबाट नष्ट नहुने विद्यालय भवन परियोजना, आपतकालीन सहयोग परियोजनामा भएका प्रगतिबारे नेपाल सरकार र बैंकका सम्बद्ध पदाधिकारीले जानकारी दिएका थिए ।
रासस































प्रतिक्रिया