काठमाडौं ।
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिंदै आएको छ ।
नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए।
डा. निर्मलले कोभिड १९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परिक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपंक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपन्छी रोगकै परिक्षणका निम्ति दिनुपर्ने बताए।
सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँ कतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।
यसै सन्दर्भमा डा. विमलकुमार निर्मलसँग गरिएको संक्षिप्त कुराकानी :
“कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु शिल भएको, पशु तथा पशुजन्य पद्धार्थ कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतको बर्डफ्लु आएको छ । हामी सचेत हुनु पर्छ । नेपालमा देखा परिसकेको त छैन तर सम्भावना रहन्छ । जब छिमेकी मुलुकमा तथा सीमानामा आयो भने नेपालमा पनि स्वभाविक हुन्छ ।
बर्डफ्लु १० वर्षदेखि खेपीरहेका छौँ । यस वर्षको तयारी भनेको, जहाँको फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौं ।
हामीसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौं । एउटा यहाँ पनि छ, पशुसेवा विभाग अन्तर्गत महानिर्देशकले हेर्नु हुन्छ ।
एउटा कुरा भनौँ, गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्तर्गत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यस सम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो, पशुसेवा विभागको महानिर्देशकको संयोजकत्वमा । उहाँले तत्काल सम्बन्धित प्रदेशको सचिवसँग सम्पर्कमा रहनुहुन्छ ।
हामीले यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला–जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जति पनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दा बढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँ पनि लाग्नु हुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ ।
बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नु हुन्छ । कहिँ पनि यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडि बढाउने ।
कोभिडको बेलामा झन्डै हाम्रो ५/६ वटा प्रयोगशाला कोभिड रोग पहिचानको लागि प्रयोग भइरहेको छ । प्रदेश नं. १ मा बिराटनगर, प्रदेश नं. २ मा जनकपुर लगायत चितवन, धनगढी, सुर्खेतमा प्रयोगशाला दिएका छौँ । हाम्रो पशुपन्छीमा रोग आइसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हामीले अनुरोध गरेका छौं कि, ति प्रयोगशालाहरु क्रमशः पशुपन्छीकै लागि प्रयोग गर्दा राम्रो हुने ।
यो रोगको बढी जनसंख्या भएको चितवन वरिपरि, रुपन्देही, नवलपरासी, हेटौँडा, कोहलपुर, काठमाडौँ वरिपरी निगरानीको रुपमा हेर्छौं । किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जानु हुन्न । कहिँ ठूलो संख्यामा कुखुरा मरेको छ भने जानकारी दिनु हुन अनुरोध छ । बिरामी भयो भने मारेर गाडीदिने अथवा बेचिदिने गर्नु हुन्छ । गाड्दैमा भाइरस मर्दैन । कुनै न कुनै रुपमा अन्य क्षेत्रमा संक्रमण हुन्छ र नराम्रो गर्छ । त्यसरी गाड्नु हुन्न । कुनै रोग छ भने आफैँले नगाड्नु, बेचबिखन नगर्नु । त्यस गरिएको पाए कारबाही गर्छौं ।
क्वारेन्टाइनमा कडाई गरेका छौँ । किसानहरु आफैं पनि सचेत हुनु हुन्छ । जाडो महिनामा आउने रोग भएकोले एक महिना विशेष सजगता रहन अपिल गरेका छौँ । बर्डफ्लु फैलियो भने खपत घट्ने हुन्छ । किसानलाई अप्ठ्यारो पर्छ । बर्डफ्लुको मारमा किसान नपरुन् । सजग रहन अनुरोध गर्दछु ।”





























प्रतिक्रिया