अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित :अर्थमन्त्री

अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित :अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भएपनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताएका छन् ।

संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उनले बताएका हुन् । यसका लागि विहिबार काठमाडौंमा ऋण प्रदायक बैंकहरु र आयोजनाबीच दुईपक्षिय सम्झौता समेत भएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय स्रोत जुटाउने चुनौति पनि पुरा भएको बताए ।

उनले ३० वर्ष लामो प्रयासपछि आयोजना निर्माण हुन लागेकाले देशको अर्थतन्त्रमा महत्वपूर्ण हुने बताए । उनले आयोजनाबाट उत्पादित विद्युतको विक्रीका लागि पनि बजारको समस्या नरहेकोले देशले ठूलो आर्थिक लाभ लिने बताए ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ९ सय क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सबै वित्तीय स्रोत जुटेकाले अव निर्माण कार्यले थप तीब्रता पाउने बताए ।

भारतीय लगानीमा निर्माण हुन लागेको यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वदेशी पूँजीमा निर्माण गर्न लागिएको हो । कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत रहेको यो परियोजनामा नेपाल र भारतका बैंकहरुले १ खर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गर्ने भएका हुन् ।

भारतको स्टेट बैंक अफ इण्डिया (एसबिआई)को नेतृत्वमा पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक अफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कूल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । आयोजना सन् २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Skip This
Skip This
Logo