नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस्– उपाध्यक्ष ढकाल

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस्– उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुग्ने बताएका छन् ।

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने– यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ । उनले भने– सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यवसायीहरु आफै पनि लाग्नेछन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २१ औँ साधारण सभालाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो भने । पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन् भन्दै उनले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

सरकारी निकाय तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यवसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनकाे जोड थियाे । उनकाे भनाइ थियो– जस्तै भनौँ न निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या इआइएकै होस् अथवा सामान्य रुपमा भन्दा एउटा विजुलीका पोल सार्ने जस्तो सानो काम नै किन नहोस् यसले पनि उहाँहरुलाई अप्ठेरो पारेको देखिन्छ र यस्ता सानातिना झमेलाहरुले पछि गएर समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ ।

यसरी निर्माण व्यवसायीहरुले मात्र समयमा काम नसकेको दोष लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले उनीहरुलाई ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ– ढकालले भने ।

उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने–  यस संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन् ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् ।

उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

Skip This
Skip This
Logo