भोलिदेखि भक्तपूरमा अन्नपूर्ण तरकारी बजार संचालनमा आउने

भोलिदेखि भक्तपूरमा अन्नपूर्ण तरकारी बजार संचालनमा आउने

केन्द्रबिन्दु
0
Shares

भक्तपूर।

भक्तपूरको मध्यपूरठिमी नगरपालिका ३ स्थित गठ्ठाघरमा भोलिदेखि अन्नपूर्ण तरकारी बजार संचालनमा आउने भएको छ ।

अन्नपूर्ण बहुमुखि सहकारी संस्थाले तरकारी बजार संचालन गर्न लागेको हो । यसका लागि संस्थाले ८ रोपनी जग्गामा २ सय वटा भन्दा धेरै सटर निर्माण गरि अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट थोक तथा खुद्रा व्यापारको तयारी गरेको छ । यस बजारबाट भक्तपूर र आसपासका क्षेत्र तथा जिल्लामा उत्पादित तरकारी बजारीकरणका लागि सहज हुने संस्थाले विश्वास लिएको छ ।

यसअघि भक्तपूर तरकारी बजारका रुपमा संचालनमा आइरहेको तरकारी बजार अबदेखि अन्नपूर्ण बहुमुखि सहकारी संस्थाले अझ व्यबस्थित गरि संचालन गर्न लागेको संचालक शिवहरि खनालले जानकारी दिए । भोलिदेखि शुरु हुने बजारमा तत्काल एक सय वटा सटरहरु संचालन हुने र बाँकी सटरका लागि बुकिङ्ग खुल्ला गरिएको पनि उनले बताए ।

तरकारीको बजारमा हाल भइरहेको विचौलियाको अन्त्य गर्ने गरि बजार शुरु गर्न लागिएको संस्थाका अध्यक्ष देवराज न्यौपानेले जानकारी दिए । संस्थाका शेयर सदस्य तथा उपभोक्ताले यहाँबाट सस्तो दरमा तरकारी खरिद गर्न सक्ने बताइएको छ । तरकारीका अतिरिक्त यहाँबाट फलफूल, मासु, दुधजन्य पद्धार्थ र अन्य खाद्यान्नहरुको कारोबार हुने संस्थाले जनाएको छ ।

०५४ सालबाट शुरु भएको यस संस्थाले यसअघि बचत तथा ऋणको काम मात्र गर्दै आएकोमा अब तरकारी बजार पनि संचालनको तयारी गरेको हो ।

 

Logo