नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजस्व विभागका महानिर्देशकबीच छलफल

नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजस्व विभागका महानिर्देशकबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ८ सदस्यीय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरसँग भेट गरेको छ । उक्त भेटमा फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे विस्तृत छलफल भएको नाडाले जनाएको छ ।

विभागका महानिर्देशक कुँवरले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायती रहदै आएकाले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए ।

दुलालले कर कार्यालयहरूबाट व्यवसायीहरूले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरूलाई मर्का परिरहेको गुनासो गरे । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको नेपालले बजारको माग र आपूर्तिका आधारमा वस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरे ।

कुँवरले व्यावसायिक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउँदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरूको निराकरण गर्दै जानु पर्ने धारणा राखे । साथै उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरूको अहं भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताए । वैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने भन्दै कुँवरले नयाँ आर्थिक ऐन आएपछि नाडासँग पुनः औपचारिक रूपमा छलफल गर्ने बताए ।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालसँगै नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

Logo