काठमाडौँ । माछापुच्छ्रे बैंकले साना किसानहरूको हितका लागि किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न ग्रामीण क्षेत्रमा रहेका साना किसानहरूलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा सघाउन तथा स्वरोजगारीको अवसर सिर्जनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको बताएको छ ।
बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तर्गत किसानहरूले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा किसान कार्ड मार्फत प्राप्त गर्नसक्ने जनाएको छ ।

पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा अवस्थित श्री साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरूलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको बताएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रक्रिया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्ने बताएको छ । किसान कार्ड पाएपछि कृषकहरूले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्ने जनाइएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ४४ वटा शाखा एवं १ सय ३८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा २ सय ८२ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ भने यसका देशभर १ सय ७२ वटा एटीएम छन् ।































प्रतिक्रिया