काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र पर्वतको कुश्मास्थित जनसेवी लघुवित्त संस्था लिमिटेडको एकिकृत कारोबारका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । कलिका लघुवित्त वित्तीय संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
मर्ज पश्चात संस्थाको अध्यक्षता साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचनले गर्ने भएको छ भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ । अन्तिम सहमति पश्चात एक महिना भित्र एकिकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी पचास करोड, जारी पूँजी दश करोड असी लाख तथा चुक्ता पूँजी रु. दश करोड असी लाख रहको र जनसेवी लघुवित्तको अधिकृत पूँजी तीस करोड जारी पूँजी चौध करोड त्रिचालीस लाख तीस हजार र चुक्ता पूँजी पनि चौध करोड त्रिचालीस लाख तीस हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी पचास करोड जारी तथा चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार बराबर हुनेछ ।
दुबै संस्थाको गरि हाल कुल ९६ वटा शाखा कार्यालयमा करिब ४ सय कर्मचारीहरुबाट ५७ हजार ५ सय सक्रिय सदस्यहरूलाई सेवा दिइरहेका छन् भने ३१ हजार ऋणी सदस्यहरु रहेका छन् । दुबै संस्थाले सदस्यहरुबाट ९८ करोड ५३ लाख बचत संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट १ अर्ब २० करोड कर्जा लिई कुल २ अर्ब ४८ करोड रुपैंया सदस्यहरुलाई लगानी गरिरहेको छ ।
हाल दुबै संस्थाले २६ वटा जिल्ला मार्फत सेवा पुर्याइरहेकोमा यसै आर्थिक वर्ष भित्रमा लघुवित्त सेवाको पहुँच नपुगेका जिल्लाहरुमा थप ३० वटा शाखा विस्तागरि सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले जानकारी दिए ।





























प्रतिक्रिया