काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुस १७ गते शुक्रबार (आज) बाट एकमुष्ट रुपमा व्यवसायीहरुलाई प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन खुल्ला गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी माघ १६ गतेसम्म आवेदन पेश गर्न आह्वान गरेको हो ।
यस अघि नै लागू भएको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा भएको व्यवस्था अनुसार एकमुष्टरुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो ।
राष्ट्र बैंकबाट प्राप्त हुने पुनर्कर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ ।
राष्ट्र बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।
पुनर्कर्जा आवेदनका साथमा इजाजत पत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची पेश गर्नु पर्नेछ । संस्थाले माग गर्ने कूल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनु पर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनु पर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक, वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनु पर्नेछ ।
यसैगरी पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने, आवेदनका लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनु पर्नेछ । आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनु पर्नेछ । इच्छुक ग्राहक ऋणीलाई आफूले सेवा लिइरहेको शाखामा पुनर्कर्जा माग गरी निवेदन दिनु पर्नेछ ।
साथै व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको, मार्जिन कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाका साथै सुर्तीजन्य उद्योग, व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई पनि पुनर्कर्जाको लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार हालसम्म ८१ अर्ब पुनर्कर्जा स्वीकृत भइसकेको छ । स्वीकृत भएको ८१ अर्ब पुनर्कर्जा मध्ये अधिकांश १५ लाख भन्दा साना कर्जा रहेको छ । ‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ ।































प्रतिक्रिया