तातोपानीबाट दैनिक एक सय टन चिनियाँ प्याज आयात

तातोपानीबाट दैनिक एक सय टन चिनियाँ प्याज आयात

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक , २०७६ मंसिर २६ ।

नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ ।

मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। बिचौलियाका कारण छिमेकी भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि नेपाली व्यापारीको आँखा चिनियाँ प्याजमा परेको हो। राजधानी काठमाडौंबाट तीन हजार पाँच सय किलोमिटर टाढा दुरीमा रहेका चीनका विभिन्न सहर पुगेर व्यापारीले प्याज आयात गरिरहेका छन्।

बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले नेपाली बजारमा अभाव देखिन थालेदेखि नै चिनियाँ प्याजको आयात बढेको बताए । ‘मंसिर लागेदेखि नै चीनबाट आयात हुने प्याजको आयात परिमाण ह्वात्तै बढेको हो,’ उनले नागरिकसँग भने। नाकाबाट दैनिक औसतमा १० कन्टेनर (एक सय टन) चिनियाँ प्याज राजधानी आयात भइरहेको ओलीले जानकारी दिए। यसअघि गत जेठ १५ गतेबाट नाका सञ्चालनमा आए यता सातामा दुई–चार कन्टेनर मात्र प्याज आयात हुन्थ्यो ।

तीन साताबीचमा नाकाबाट एकै दिन दुई सय ५० टन (२५ कन्टेनर) सम्म चिनियाँ प्याज आयात भएको भन्सारको तथ्यांक छ। नाकाबाट दैनिक भित्रने सामग्रीको दुई तिहाइ हिस्सा चिनियाँ कृषिजन्य उत्पादनले ओगट्दा प्याजले एक तिहाइ स्थान लिइरहेको छ। नाकाबाट यतिबेला दैनिक ३५ कन्टेनरसम्म चिनियाँ सामग्री आयात भइरहेको तथ्यांक छ।
नागरिकबाट

Skip This
Skip This
Logo