डोटीका मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु

डोटीका मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु

केन्द्रबिन्दु
0
Shares

दिपायल,

नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढी लगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो ।

टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्ट लगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताउनुभयो । त्यस्तै टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिनुभयो ।

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपतविपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युतबाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युतको टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो । जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन् गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।

Logo