काठमाडौँ। सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ।
सो सम्बन्धी माघ २२ गते दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता–पत्रमा सिउरी न्यादी पावरका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।
हाल अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख रुपैयाँ उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दै छ । कम्पनीले प्रतिअंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताएका छन् । ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ ।





























प्रतिक्रिया