अन्नपूर्ण सुगर मिलले उखु किसानलाई दैनिक एक करोड भुक्तानी गर्ने

अन्नपूर्ण सुगर मिलले उखु किसानलाई दैनिक एक करोड भुक्तानी गर्ने

केन्द्रबिन्दु
0
Shares

रौतहट।

रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोडका दरले रकम भुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिए। उनका अनुसार गत वर्ष किसानलाई रु अठार करोड भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार उक्त मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीस्थित इन्दिरा सुगर मिलले चार करोड ७० लाख भुक्तानी गर्न बाँकी छ ।

सबैभन्दा धेरै बक्र्यौता रकम रहेको श्रीराम सुगर मिलले गत शुक्रबारदेखि भुक्तानी शुरु गरेको छ । उक्त मिलले सोमबारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ । मन्त्रालयमा गरेको सहमति अनुसार उक्त मिलले शुक्रबार छ हजार किसानलाई रु १६ करोड ४४ लाख ७० हजार बक्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । दुई मिलले बक्यौता रकम भुक्तानी गर्न शुरु गरे पनि अन्य मिलले भुक्तानी शुरु गरेका छैनन् ।रासस

Skip This
Skip This
Logo