चैतमा जसरी पनि तामाकोसीबाट बिजुली निकाल्न कुलमानको ताकेता

चैतमा जसरी पनि तामाकोसीबाट बिजुली निकाल्न कुलमानको ताकेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने गरी आयोजनाको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

आयोजनाको निरीक्षणपछि निर्देशन दिंदै उहाँले भन्नुभयो , निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसले यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुशी बनाउँछ तालिका अनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ । उहाँले जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन पनि दिनुभयो ।

पछिल्लोपटक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङ २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको हो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/०७४ भित्र पूरा गर्ने विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/०७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सीईओ विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo