बर्दिबासमा महोत्सवको माहोल

बर्दिबासमा महोत्सवको माहोल

केन्द्रबिन्दु
1k
Shares

महोत्तरी । यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता तीनदिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुनको चौथो सातादेखि आदिवासी जनजाति महोत्सव सुरुहुने भएको हो ।

यही २४ देखि ४ चैतसम्म नेपाल आदिवासी जनजाति महासङ्घ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चौथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजातिको परम्परा, रीतिथिति, संस्कृति र पहिचानको प्रवद्र्धन महोत्सवको मुख्य ध्येय रहेको महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण श्रेष्ठ बताएका छन् ।

महोत्सवमा जिल्लामा बसोबास गर्दै आएका नौभन्दा बढी आदिवासी जनजाति समुदायले आफ्ना सांस्कृतिक रीतिथिति, वेशभूषा र परम्परागत खाद्य परिकारको परिचय दिनेछन् । यो अवसरमा फरक–फरक समुदायका सांस्कृतिक प्रस्तुति गरिने महासङ्घ जिल्ला समन्वय परिषद्ले जनाएको छ । बर्दिबासमा आयोजना हुने ११ दिने यस महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्षा समेत सञ्चालन हुने जनाइएको छ ।

जिल्लाको हकमा तामाङ, मगर, नेवार, राईसहितका पर्वते र थारू, दनुवार, कुमाल (पर्वते र मधेसी दुवै), धानुक, केवटसहितका आदिवासी जनजातिको महोत्सवमा संयुक्त सहभागिता जनाउनेछन् ।

यस महोत्सवमा परम्परागत परिकार र सांस्कृतिक कार्यक्रमको मज्जा लिन विगतदेखि नै उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता हुँदै आएको छ । सिन्धुली, सर्लाही र धनुषासँग जोडिएको र यातायातको सुगमताले बर्दिबासमा यसपालिको चौँथो महोत्सवमा पाँच लाख बढी दर्शक सहभागी हुने महासङ्घले अपेक्षा राखेको छ ।

Logo