शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम ।

जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुर लगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।

शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।

पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला कैलाली, कञ्चनपुर लगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिने गर्छन् । दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ ।

लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरी लगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।

यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।

यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउँछन् ।

ढुसी नाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकको छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक बिषादी प्रति लिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने शर्मा बताउँछन्।

रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुरका ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको कृषकको भनाइ छ ।

धनगढी उपमहानगरपालिका–१३ का किसान रामचन्द्र रानाले वर्षेनी हुने डढुवा रोगकै समस्याका कारण तोरी खेती गर्न छोडेका छन् । अढाई दशक यतादेखि हिउँदे याममा विभिन्न बालीमा डढुवा रोगको समस्या देखिन थालेको उनी बताउँछन् ।

कैलालीको साविक गेटा गाविसका रामदिन चौधरी आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौठो लागिरहेको बताउँछन् । “पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गर्थ्यो, कात्तिक पहिलो हप्तामै खेतवारी जोतेर तोरी छर्ने गर्थ्यौं”, ६८ वर्षीय चौधरीले भने, “पछिल्ला वर्षमा देखिएको डढुवाको समस्याले यो बालीको खेती गर्न अब सकिँदैन ।”

कृषि ज्ञान केन्द्रका प्रमुख शर्मा तोरी बालीको क्षेत्रफल पहिलेको तुलनामा घट्नुमा मौसममा आएको परिवर्तनसँगै देखिने डढुवा रोगको समस्या पनि कारण रहेको स्वीकार्छन् । “एउटै खेतमा लगातार एकै बालीको खेती गरिरहने र गुणस्तरीय बीउ पनि प्रयोग नहुँदा डढुवाको सङ्क्रमणको समस्या बढेको हो”, उनले भने ।

जाडो बढ्दा कोरोनाको जोखिम पनि बढ्ने

शीतलहरसँगै बढेको जाडोले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम पनि बढेको छ । चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने गरेकाले कोरोनाको जोखिम बढ्न सक्ने सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमर बताउँछन् ।

“प्रकृति हेर्दा कोरोना अझैँ बढ्न सक्ने देखिन्छ”, डा कमरले भने, “यस्तो बेलामा धेरै व्यक्ति भेन्टिलेशनको सुविधा नभएको एउटै कोटामा बस्न पनि जोखिम हुन सक्छ ।” अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउने र खाने कुरामा पनि ध्यान दिनु पर्ने सल्लाह चिकित्सकको छ ।

जाडो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेको जनाइएको छ । पछिल्लो तीन दिनयता यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।रासस

Logo