मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

ताराखोला गाउँपालिकामा निर्माण हुन लागेको १.७ मेघावाटको मध्य ताराखोला जलविद्युत् परियोजनामा प्रभु बैंकले २८ करोड ३० रुपैयाँ लगानी गर्ने भएको छ । ३४ करोड रुपैयाँ लाग्ने उक्त परियोजनमा ८० प्रतिशत प्रभु बैंक र २० प्रतिशत प्रवद्र्धक कम्पनी मध्य ताराखोला हाइड्रोपावर प्रालिले लगानी गर्ने भएको हो। प्रवद्र्धकले पाँच करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।

कम्पनी र प्रभु बैंकबीच काठमाडौंमा ऋण लगानी सम्झौता सम्पन्न भएको हो । सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष शिव गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।

सानो परियोजना भएकाले प्रभुले एक्लै लगानी गरेको सिइओ शेरचनले बताए । ‘सानो परियोजना भएकाले अन्य साझेदार नखोजी हामीले मात्र लगानी गरेका छौं,’ शेरचनले भने, ‘विद्युतले पैसा आम्दानी गर्ने भएकाले निर्धारित समयमा परियोजना सम्पन्न गर्नुपर्छ ।’

शेरचनले आयोजना पारदर्शी ढंगबाट सम्पन्न गर्न पनि आग्रह गरे। ‘विभिन्न आयोजनामा प्रवद्र्धकबीचको मनमुटावले समस्या सिर्जना हुने गरेको सुनिन्छ ,’ शेरचनले भने, ‘प्रतिवद्धता अनुसार आयोजना पूरा हुनेमा हामी विश्वस्त छौं।’

भदौदेखि आयोजनाको संरचना निर्माण कार्य सुरु हुने कम्पनीका अध्यक्ष गिरीले बताए । गिरीका अनुसार उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको सिभिल संरचना निर्माणका लागि आचार्य विल्डर्ससँग निर्माण सम्झौता भएको छ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि पनि आपूर्तिकर्तासँग छलफल भएको गिरीले जानकारी दिए । उक्त परियोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका सञ्चालक हरिनारायण गौतमले जानकारी दिए ।
नागरिकबाट

Logo