देशैभर वित्तीय साक्षरता पुर्‍याउने योजना छः गभर्नर अधिकारी

देशैभर वित्तीय साक्षरता पुर्‍याउने योजना छः गभर्नर अधिकारी

केन्द्रबिन्दु
70
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल मनी विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याउने बताएका छन्।

सोमवार काठमाडौँको ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसमेत पुर्‍याउन जरुरी रहेको बताए।

गभर्नर अधिकारीले ग्लोबल मनी विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताए। उनले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए।

गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे। उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नका लागि समन्वय भइरहेको जानकारी दिए।

उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानका लागि वित्तीय चेतना हुन जरुरी रहेको औँल्याए। उनले ग्लोबल मनी विकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षाको आधारका रुपमा लिएको उल्लेख गरे।

गभर्नर अधिकारीले सञ्चारमाध्यमलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए। उनले पैसा बचत गर्ने र भविष्यका लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनी विक मनाउने गरिएको बताए।

उनले भविष्यमा कमाएर मात्रै बचत गर्ने नभएर बालककालदेखि बानी बसाउन जरुरी रहेको बताए । उनले बालबालिकाले खाजा खर्चबाट बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे।

ग्लोबल मनी विक २०२४ हिजो (आइतवार) शुरु भएको छ। ग्लोबल मनी विक ओईसीडी वित्तीय शिक्षाका लागि अन्तरराष्ट्रिय सञ्जालले मार्च १८ देखि २४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो।

सन् २०१२ देखि वर्षेनि ग्लोबल मनी विक विश्वभर मनाउन थालिएको हो। यो बालबालिका र किशोरकिशोरीमाझ वित्तीय शिक्षाको महत्त्व बुझाउन मनाइने एउटा अभियान हो। यस वर्षको ग्लोबल मनी विकको नारा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ रहेको छ।

Logo