नेपाली अटो बजारमा आठ महिनामा ६ हजार ४ सय ३५ विद्युतीय सवारी भित्रिए

नेपाली अटो बजारमा आठ महिनामा ६ हजार ४ सय ३५ विद्युतीय सवारी भित्रिए

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। आठ महिनामा साढे ६ हजार विद्युतीय सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन्। भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो।

आठ महिनामा विभिन्न तौल क्षमतका ६ हजार ४३५ वटा विद्युतीय सवारी नेपाल भित्रएका छन्। जुन गत आवको सोही अवधिमा भने २.९२ गुणा अर्थात् १९२.७६ प्रतिशत बढी हो। गत आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए।

अहिले नेपालमा मासिक औसत ८०४ वटा विद्युतीय गाडी भित्रने गरेको विभागको तथ्याङ्कले देखाउँछ। तर, फागुनमा भने ज्यादै न्यून आयात भएको छ। फागुनमा २७६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। गत माघमा पनि कुल २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरका १ हजार ५२ वटा इभि आयात भएको थियो।

गत पुसमा भने यो वर्षकै उच्च आयात भएको छ । सो महिनामा कुल ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, गत असोजमा पनि औसतभन्दा बढी १ हजार २३७ वटा आयात भएको थियो । विभागका अनुसार मंसिरमा पनि ८९९ वटा, कात्तिकमा ६५२, भदौमा ७८८ र साउनमा ११० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

नेपालमा सबैभन्दा धेरै चीनबाट इभि आयात हुने गरेको छ । आठ महिनाका चीनबाट ३ हजार ९६९ विद्युतीय सवारी आयात भएको छ। चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँ बरारबको इभि आयात भएको छ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट पनि विद्युतीय सवारीको आयात उच्च देखिएको छ । भारतबाट ८ महिनामा ४ अर्ब ५९ करोड ७६५ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा इभि नेपाल भित्रिएका छन् । यता, कोरियाबाट २४ करोड ४८ लाख रुपैयाँ बराबरको ४२ वटा, जर्मनबाट ७ वटा, अमेरिकाबाट ३ वटा र इन्डोनेसियाबाट ३४ वटा इभि आयात भएका छन्।

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन्। नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन्। नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

Logo