मुग्लिन -पोखरा सडक विस्तारमा देखिएका समस्या समाधान गर्दै काम अगाडि बढाइने

मुग्लिन -पोखरा सडक विस्तारमा देखिएका समस्या समाधान गर्दै काम अगाडि बढाइने

केन्द्रबिन्दु
70
Shares

दमौली (तनहुँ)। मुग्लिन पोखरा सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्दै निर्माणलाई अगाडि बढाउने यहाँका सरोकारवालाले निर्णय गरेका छन्।

तनहुँको व्यास नगरपालिकाको संयोजनमा आज नगरपालिकाको सभाहलमा बसेको सरोकारवालाको बैठकले विविध पक्षका बारेमा छलफल गरी सडक निर्माणका क्रममा देखा परेका अप्ठ्यारालाई समाधान गर्दै निर्माण अगाडि बढाउने निर्णय गरेको हो।

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजार खण्डमा यथाशीघ्र सडक अधिकारक्षेत्र रहेका घर भत्काउने, बिजुलीका पोल, खानेपानीका पाइपसमेत स्थानान्तरण गरी वर्षाभन्दा अगाडि कालोपत्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित घरधनीलाई सहयोग गर्न अनुरोध गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए।

उनले भने,“मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँका अन्य खण्डमा काम धेरै अगाडि बढेपनि दमौली बजार क्षेत्रमा काममा ढिलाइ भएको छ। सडक क्षेत्रभित्र रहेका घरटहरा नहटाउँदा काममा ढिलाइ भएकाले त्यस्ता संरचना हटाई सहयोग गर्न सम्बन्धित घरधनीलाई आग्रह गरेका छौँ।”

सरोकारवालाको बैठकले राजमार्ग विस्तार गर्न निर्माण भइरहेकामा कतिपय स्थानमा नालाको निकास, स्थानीय घरधनीलाई आवतजावतमा हुने कठिनाई, चालु खानेपानी लाइनको पुनःस्थापना लगायतका विषयमा आयोजनाबाट व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख न्यौपानेले बताए।

बैठकमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले राजमार्ग स्तरोन्नतिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डे, परामर्शदाता चिन्तामणि शर्मा, सडक डिभिजन दमौलीका इञ्जीनीयर कल्पना मिश्रलगायत सहभागी थिए।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म सडक विस्तारका लागि काम भइरहेकामा पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति हासिल भएको हो।

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको छ। आयोजनाका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ। आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र आठ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ। पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ। पश्चिम खण्डमा हालसम्म ६ किलोमिटर एकतर्फी सडक कालोपत्र भएको छ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

Logo