काठमाडौं ।
काठमाडौं उपत्यकामा लागू भएको जोर बिजोर प्रणाली शुक्रबार (आज) बाट हटेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको शुक्रबारको छलफलले आजबाट जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोर बिजोर प्रणाली कायम गरिएको थियो ।
जोर बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्न उनले आग्रह गरे । सवारी साधनमा देखिएको यात्रुहरुको चापको अवस्थालाई मध्यनजर गर्दै जोर बिजोर प्रणाली हटाउने निर्णय भएको उनले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए। उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोर बिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोर बिजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।





























प्रतिक्रिया