भृकुटीमण्डपमा ‘नेशनल हर्टिकल्चर एक्स्पो’ आयोजना हुने, एक करोड कारोबारको अपेक्षा

भृकुटीमण्डपमा ‘नेशनल हर्टिकल्चर एक्स्पो’ आयोजना हुने, एक करोड कारोबारको अपेक्षा

केन्द्रबिन्दु
658
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८०’ को आयोजना हुने भएको छ । नर्सरी व्यवसायी संघ मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त एक्स्पो चैत्र १६ देखि हुने जानकारी दिएको हो ।

नर्सरी व्यवसायको विकास, विस्तार एवं स्वच्छ वातावरणसहित आय र रोजगार प्रवर्द्धन गर्ने उद्देश्य राखी यो एक्सपोको आयोजना गर्न लागेको मेला संयोजक रामजी कुँवरले बताए । पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको उक्त प्रदर्शनी चैत्र १६ बाट सुरु भई १९ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरू तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने साथै कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपनादेखि रहेकाहरूको लागि एक्स्पो उपयुक्त मञ्चको रूपमा स्थापित कुँवरले बताए ।

प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू बिक्री तथा वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत प्रदर्शनीमा स्टल रहने आयोजक टिमले बताएको छ ।

संघले मेलामा ७४ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टल गरी जम्मा ९० वटा स्टल बताएको छ । मेला अवधिभर करिव ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघले लिएको छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क १०० र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । संघले व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा व्यवसायीहरुलाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिस्पर्धाको मुल्याकंन गर्न कृषि बागवानी विज्ञ, वनस्पति विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको पनि संघले जानकारी दिएको छ ।

एक्स्पोको अवसर पारेर संघले लामो समयदेखि निरन्तर नर्सरी व्यवसाय गरी यस क्षेत्रको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरू मध्यबाट एक जनालाई ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गर्ने भएको छ । यस्तै, नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बनाउन व्यवसायी नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने पनि संघले बताएको छ ।

नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाई रहेका सञ्चारकर्मीहरू मध्य २ जनालाई पनि उद्घाटन समारोहमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

Logo