एआईआईबी र राष्ट्र बैंकका अधिकारीहरुबीच भेटवार्ता, के-के भयो छलफल ?

एआईआईबी र राष्ट्र बैंकका अधिकारीहरुबीच भेटवार्ता, के-के भयो छलफल ?

केन्द्रबिन्दु
84
Shares

नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ ।

एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र बैंकका अन्य अधिकारीहरूसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरे । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको धारणा उनले राखे ।

साथै, नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखे । साथै उनीहरूले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे जिज्ञासा राखे ।

कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतकाविभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो । भेटवार्तामा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेललगायतका अधिकारीको उपस्थिति थियो ।

मूलतः एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो । यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ ।

Logo