पठाओको सेवा सातै प्रदेशमा सुरू

पठाओको सेवा सातै प्रदेशमा सुरू

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राइड सेयरिङ एप पठाओ ‘बाइक राइड’ सेवा सातै प्रदेशमा बिस्तार गरिएको छ।

काठमाडौं उपत्यका र चितवनमा सिमित रहेको पठाओ सेवालाई नयाँ वर्षको अवसर पार्दै सात प्रदेशका १८ सहरमा बिस्तार गरिएको हो।

सेवा बिस्तार गरेपछि पठाओका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले देशभर फैलाउन पाउँदा उत्साही भएको बताउँदै भने, ‘स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउदैँ काठमाडौँ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ।’

पठाओले कोशी प्रदेश(बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड र भद्रपुर), मधेस प्रदेश(वीरगञ्ज र जनकपुर), गण्डकी प्रदेशको पोखरामा पठाओको राइड सेयरिङ सेवा सुरु गरिएको कम्पनीले बताएको छ।

यस्तै, लुम्बिनी प्रदेश(बुटवल, नेपालगञ्ज, भैरहवा) र सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भएको छ।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार भएको बताइएको छ।

बाइक राइडर बन्न इच्छुकले पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सकिने बताइएको छ। नविकरण गरिएको लाइसेन्स र बिलबुकसँगै इन्स्योरेन्स कागजातसहित पठाओमा आबद्धत हुन सकिन्छ।

कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन्। एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन्।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सैं घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको र सेवाग्राहीले कुनैपनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्ने बताइएको छ।

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सकिने र हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको पठाओले जनाएको छ।

Logo