सीजी मोटर्स: नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटर सार्वजनिक गर्ने तयारीमा

सीजी मोटर्स: नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटर सार्वजनिक गर्ने तयारीमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालमै एसेम्बल भएका ३ मोडलका मोटरसाइकल र एउटा स्कुटर नेपाली बजारका लागि सार्वजनिक गर्ने तयारीमा सीजी मोटर्स लागेको छ।

हिरोको आधिकारिक वितरक रहेको चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले अर्को हप्तादेखि नेपाली बजारका लागि हिरो स्प्लेन्डर, स्प्लेन्डर प्लस र एक्सपल्स २०० मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ। त्यसैगरी नेपाली बजारका लागि नयाँ स्कुटरको रुपमा हिरो जुम पनि लन्च गरिने बताएको छ।

यी चार मोडलका साथ नेपाली बजारमा पहिलो पटक प्रस्तुत हुने सीजी मोटर्सको तयारी छ। यी मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल हुनेछन्।

सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको छ। हिजो मात्रै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्मदिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको औपचारिक जानकारी उनको छोरा निर्वाण चौधरीले सार्वजनिक गरेका थिए।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियलको ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छन्।

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १ सय ६५ जनाले रोजगारी पाउने बताइएको छ।

Logo