लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सुरु, दीगो लेखा अभ्यासमा जोड

लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सुरु, दीगो लेखा अभ्यासमा जोड

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए । राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेशामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाई थियो । ‘यस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ उनले भने ।

अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरुकै हुने उनको भनाई थियो ।
सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारवाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सङ्ग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक) की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्धालाई अघि बढाउन आवश्यक रहेको बताइन् । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उनको सुझाव थियो ।

पछिल्लो समय सबै क्षेत्रहरुले दीगो विकासको अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । ‘समय परिवर्तनशील छ । तर, लेखा अभ्यासको आफ्नै महत्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ, उनले भनिन् ।

लेखा व्यवसायमा नयाँ पुस्ता ल्याउन आइक्यान र विभिन्न शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । यो पेशा चाहना अन्तर्गतको मात्र नभै मुलुककै अर्थतन्त्र सुधार गर्ने मुख्य आधार रहेको पनि उनले बताइन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले सिएले मुलुकको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए । ‘आइएमएफले यस बर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ, उनले भने ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’

सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रमको आयोजक आइक्यानका अध्यक्ष सिए. सुजन कुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताए । सम्मेलनको पहिलो दिन दीगो लेखा अभ्यासमा केन्द्रित हुने र दोस्रो दिन सार्वजनिक लेखापरीक्षणको समसामयिक भूमिका बारे छलफल हुने उनले जानकारी दिए । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायको क्षेत्रमा देखिएको चुनौति र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उनले बताए ।

उद्घाटन समारोहमा नेपाल अडिटर एसोसिएसन (अडान) का वरिष्ठ उपाध्यक्ष आरए. बद्री प्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशाषन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । सो अवसरमा उनले अडानमा आबद्ध आठ हजारभन्दा सदस्यमार्फत पारदर्शी पमा विभिन्न निकायको वित्तिय विवरण प्रस्तुत गर्ने काम भइरहेको जानकारी गराए ।

चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष सिए दिपक पाण्डेले अहिले देशभर तीन हजार दुई सय चार्टर्ड एकाउन्टेन्टले सक्रिय रुपमा काम गरिरहेको र अहिले पारिश्रामिकमा प्रतिस्पर्धा आएको बताए । डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाने क्रममा सोही अनुसार सीप र दक्षता विस्तार हुन नसके पेशागत चुनौति पनि देखापर्न सक्ने उनले बताए ।

उनले सीएको समकक्षताको सन्दर्भमा देखिएको अन्यौलता अन्त्य हुनुपर्ने धारणा राखे । ‘१२ कक्षा पढे पछि ५ वर्ष चार्टर्ड अकाउन्टेन्ट पढ्दा पनि स्नातक/स्नातकोत्तर सरहको मान्यता निश्चित छैन,’ उनले भने, ‘भारतमा आइआइएम, आइआरडी जस्ता संस्थाले सिएलाई पोस्ट ग्राजुएटको मान्यता दिइसकेको छ । हाम्रोमा भने मुद्दा लड्दा लड्दै पनि कुनै टुङ्गो लागेको छैन ।’ चार्टर्ड एकाउन्टेन्ट्सले निजी क्षेत्रमा आफ्नो सेवा विस्तार गरेपनि सरकारी निकायमा पहुँच कम भएको उनले बताए ।

आइक्यानका उपाध्यक्ष सिए प्रविण कुमार झाले सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल हुने बताए ।

उद्घाटन कार्यक्रममा आइक्यानले आफ्नो आधिकारिक गित पनि सार्वजनिक गरेको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको छ ।

Logo