हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, भृकुटीमण्डपमा बैशाख १२ देखि आयोजना हुँदै

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, भृकुटीमण्डपमा बैशाख १२ देखि आयोजना हुँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। भृकुटीमण्डपमा बैशाख १२ देखि १४ गतेसम्म आयोजना हुने चौथो संंस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’को तयारी पुरा भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रा.लिले एक कार्यक्रमको आयोजना गर्दै उक्त एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो।

बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ। इप्पानका अनुसार बैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने छन्।

विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित इभी र्‍याली आयोजना गरिएको प्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

उक्त र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्यमुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरिने बताइएको छ।

र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने इप्पानले बताएको छ। ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन ईभी र्‍यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ।

जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुने बताइएको छ। एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको पनि अध्यक्ष कार्कीले बताए।

उनका अनुसार आर्थिक गतिविधिहरु सुस्त भइरहेको अवस्थामा एक्स्पोमा उत्साहजनक सहभागिता भएको छ। एउटा आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ। नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको छ।

सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको छ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ। ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो एक्स्पो आयोजनाा गरिएको हो।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए। एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पूँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने इप्पानले बताएको छ।

Skip This
Skip This
Logo