९ महिनामा आयो ३० खर्ब बढी विदेशी लगानीको प्रस्ताव, ३६ वटा ठूला उद्योग दर्ता

९ महिनामा आयो ३० खर्ब बढी विदेशी लगानीको प्रस्ताव, ३६ वटा ठूला उद्योग दर्ता

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । चालु आर्थिक २०८०/८१ को ९ महिनाभित्र नेपालमा ३० खर्ब १० अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । सरकारले यस आर्थिक वर्षमा ३८ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने लक्ष्य राखेमध्ये चैत्रसम्ममा उक्त रकमको प्रस्ताव आएको उद्योग विभागले बताएको हो ।

विभागका अनुसार चैत्रसम्म ३६९ वटा संख्यामा विदेशी लगानीको स्वीकृति भइसकेको छ । स्वदेशी र विदेशी २८६ वटा उद्योग दर्ता भएका छन् भने चैत्रसम्ममा करिव ३६ वटा ठूला उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । चैत्रमा मात्रै ४ वटा ठूला उद्योग दर्ता भएका छन् भने ८० वटा ठूला उद्योग चालु आर्थिक वर्षमा दर्ता गर्ने लक्ष्य लिएको विभागले बताएको छ ।

यस्तै, चैतसम्ममा देशका विभिन्न स्थानमा २७ वटा मझौला र २२३ वटा साना उद्योगहरू दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको तथ्याङ्क मा चैत्रभित्र मझौला ५ वटा र साना १९ वटा उद्योग दर्ता भएका हुन् । विभागका अनुसार सरकाले चालु आर्थिक वर्षमा ८५ वटा मझौला र २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी विभागले चालु आर्थिक वर्षको चैतसम्ममा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको बताएको छ । उक्त लगानीको प्रस्ताव आउँदा २० हजार १३७ जनाका लागि रोजगारीका प्रस्ताव आएको छ । जसमध्ये धेरै रोजगारी पाएको विभागको भनाइ छ । चैत्र महिनामा मात्रै १९ सय ८४ जनाले रोजगारी पाएका छन् ।

विभागका अनुसार विदेशी लगानीकर्ताको परियोजनामा चैत्रसम्ममा १९ हजार ८३४ जनाले रोजगार पाएका छन् । चैत्रसम्म प्याटेन्ट २ वटा, डिजाइन ७ वटा र टे«डमार्क ४ हजार २०९ वटा दर्ता भएको पनि विभागले बताएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा प्रारम्भिक वातावरणीय परीक्षण (इआइए) २८ वटा भएको पनि उल्लेख छ । चैत्रसम्ममा ५३ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा आएका छन् भने भारतमा रियायती निर्यातका लागि ७२ वटा विभिन्न कम्पनीले सिफारिस गरेका पनि विभागले बताएको छ ।

Logo