हिराेकाे बाइक अब सीजी माेटर्सले बिक्री गर्ने, नवलपरासीमा एसेम्बल प्लान्ट पनि सञ्चालनमा

हिराेकाे बाइक अब सीजी माेटर्सले बिक्री गर्ने, नवलपरासीमा एसेम्बल प्लान्ट पनि सञ्चालनमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । हिरो मोटोकर्पकाे नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आजदेखि औपचारिक रुपमा हिरोका बाइक तथा स्कुटरहरूको बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै कम्पनीले हिरोसँगको सहकार्यमा व्यापार योजना घोषणा साथै नेपालमा एसेम्बल प्लान्टको उद्घाटन गरेको हाे ।

अब भने सीजी माेटर्सले नै हिराेका बाइकहरू पनि बिक्री गर्ने भएकाे छ । यसअघिको हिरोको आधिकारिक बिक्रेता एनजीएम थियो।

उक्त अवसर पारेर कम्पनीले हिरो मोटोकर्पले उत्पादन गरेकाे माेटरसाइकल र स्कुटर पनि सार्वजनिक गरेकाे छ । कम्पनीले हिराेका एक्सप्लस २०० फाेरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र हिराे जुम ११० स्कुटर बजारमा ल्याएको हाे । अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले बताएकाे छ ।

कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेकाे छ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा कम्पनीले लिएकाे छ ।

सीजी मोटर्सले बढ्‌दो ग्राहककाे विषयलाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गरिरहेकाे बताएकाे छ । हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले हिराेका माेटरसाइकल र स्कुटर नेपाली सडककाे लागि उपयुक्त रहेकाे बताउँदै नेपाली ग्राहकका बीचमा यी उत्पादन लाेकप्रिय बन्ने विश्वास लिएकाे बताए ।

‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो, यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ, सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो’ उनले भने ।

त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले याे एकदमै महत्त्वपूर्ण क्षण रहेकाे बताए । ‘हामी हाम्रो एसेम्बली सुविधाको उ‌द्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं। हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ। अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ,’ उनले भने

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्नेछ।

Logo