नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि सम्झौता

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि सम्झौता

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो।

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। परिषदले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने बताइएको छ।

तीव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको महासंघले जनाएको छ। संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु भएको महासंघले जनाएको हो।

परिषद् स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन्। ‘यस सम्झौताले अगामी दिनमा सहकार्यालाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष अल थानीले भने।

यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए। ‘कतारको तिव्र आर्थिक विकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भने। यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापनापछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए।

यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ। नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष अल थानीले हस्ताक्षर गरेका छन्।

सम्झौता कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री दाहालको उपस्थितिमा भएको हो।

महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो। त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवद्र्धनमा विविध सहकार्य गर्दै आइरहेका छन्।

Logo