साँगामा सुविधासम्पन्न ‘फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा, यस्ता छन् विशेषता

साँगामा सुविधासम्पन्न ‘फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । भक्तपुरको साँगामा ‘फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा आएको छ । करिब एक अर्ब रुपैयाँको लगानीमा बनेको उक्त रिसोर्ट मंगलबार एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको हो ।

भारतको आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गत फर्च्यून होटेल्स् सँगको सहकार्यमा बनेको उक्त होटलबाट गुणस्तर सेवा प्रदान हुने फर्च्यून होटलका प्रबन्ध निर्देशक समिर एमसीले जानकारी दिए । फर्च्यून होटेल्सले सो होटल नेपालमा सञ्चालनमा ल्याई आफ्नो अन्तर्राष्ट्रिय व्यवसायीक यात्रा पनि सुरु गरेको छ ।

आठ वर्षअघि देखि निर्माण थालिएको सो होटल भूकम्प र कोरोना महामारीले गर्दा सञ्चालनमा ढिलाई भएको प्रबन्ध निर्देशक एमसीले बताए । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरुले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको लागि यो होटल पहिलो रोजाइमा पर्ने उनकाे विश्वास छ ।

‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं, हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी हर्षित छौं, ‘उनले भने, ‘अब हामी दक्षिण एसिया र नजिकका देशहरूमा पनि हाम्रो व्यवसाय विस्तार गर्दै जाने छौं, यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो ।’

हिलटेक हेल्थ एण्ड होम्स् प्रा.लि.का अध्यक्ष कमल जैनप्रतिले रिसोर्ट आन्तरिक वा बाह्य पर्यटनको रोजाइमा पर्ने अपेक्षा लिएको बताए । ‘विश्वकै अग्लो शिव मूर्ति मध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त होटल उद्घाटन गर्दै यसले पर्यटन क्षेत्रमा बढवा दिनमा मदत पुर्याउने बताए । विदेशी लगानीमा तयार भएको यो होटलबाट धेरैलाई रोजगारी प्रदान हुने पनि विश्वास उनले लिए । ‘नेपालमा नयाँ होटल सञ्चालनमा आउनु खुसीको विषय हो, यसले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन साथै आन्तरिक राजश्व वृद्धिमा सहयोग पुग्ने छ,’ उनले भने ।

होटलमा आकर्षक कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइट रुमहरू छन् । प्रत्येक कोठा अत्यधिक आरामदायी बनाइएको सञ्चालक टिमले बताएको छ ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रूम, जिम, स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ । थरिथरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको अध्यक्ष जैनप्रतिले बताए ।

ब्याङ्कवेटसमेत रहेको यस रिसोर्ट वैवाहिक गन्तव्य रूपमा विकास हुन सक्ने सञ्चालक टिमको अपेक्षा छ । रिसोर्टमा ८ हजार वर्ग फिटमा फैलिएको प्रि-फङ्कसन छ भने र ११ हजार वर्ग फिट क्षेत्रफलमा स्विमिङ्ग पुल पनि तयार गरिएको छ । सञ्चालक टिमका अनुसार रिसोर्टमा ६ सय पाहुना अटाउन सक्ने क्षमता छ ।

Logo