विश्व श्रमिक दिवसः कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’

विश्व श्रमिक दिवसः कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’

केन्द्रबिन्दु
42
Shares

महेन्द्रनगर (कञ्चनपुर) । कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सकेनन् ।

घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी सुरु गरेका उनले दशकपछि मिस्त्री काम गरेर घर बनाउन जाने तर आफ्नो कच्ची घर अझै पक्कीमा परिणत गर्न सकेका छैनन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँरदा रुवि दिवसको प्रवाह नगरी महेन्द्रनगरस्थित एयरपोर्ट रोडमा घर बनाउने काममा खटिएका छन् ।

एक दशकदेखि घर बनाउने काममा लागेका उनले धनगढी र महेन्द्रनगरमा गरेर ३५ देखि ४० ठूला र साना गरी पक्की घर बनाएको सुनाए । “ज्याला मजदुरीका क्रममा अरूका पाँचतले महलसम्म बनाए तर समयसापेक्ष हाम्रो ज्याला दर बढ्न सकेन”, उनले भने, “मजदुरीको पैसा जम्मा गरेर सानो भए पनि पक्की घर बनाउँला, परिवार राखाैंला सोचेको अझै पूरा हुने छाँट छैन ।”

रुविसँगै उनका भाइ पनि कैलालीमा घर बनाउने काममै सक्रिय छन् । दुईजनाको कमाईले घर खर्च मुस्किलले टर्ने गरेको उनको भनाइ छ । “मिस्त्रीको दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म ज्याला छ”, उनले भने, “लेबरीमा खटिनेको त झन् रु पाँच सय ७५ मात्रै छ ।” बुबा/आमाको जेठो छोरा रुविले घर बनाउने मिस्त्री काममा लागेपछि मन लगाएर खटिरहेको बताए ।

“ज्याला मजदुरी गर्न विदेश जान पनि त पैसा लाग्छ”, उनले भने, “तीन महिनाको तालिम गरेर मिस्त्री काम थालेको वर्षौं भइसक्यो ।”

कञ्चनपुरको महेन्द्रनगरमा एक वर्षअघि मात्रै मिस्त्री कामका लागि आएका उनले यहाँ कामको भने अभाव नरहेको बताए । “यहाँ बास बस्ने डेरा पनि लिएको छैनौँ”, उनले भने, “जहाँ घर बनाउन सुरु गर्यौँ, त्यही त्रिपाल टाँगेर रात काट्छौँ ।”

त्यसैगरी, कैलारी–७ भुइँयाफाँटाका २२ वर्षीय दीपक चौधरी पनि महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गरिरहेको अवस्थामा आज भेटिए । “मजदुर दिवस भनेको के हो थाहा नै छैन्”, उनले भने, “दिवस मनाएर बसे बेलुकी के खाने ?” उनले दिवस मनाउनुभन्दा पनि मजदुरहरुको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

“यत्रो महँगीको जमानामा रु पाँच सय दिनको ज्यालाले के हुन्छ र ?”, एसइईसम्मको अध्ययन गरेका दीपकले भने, “पुस्तौँदेखि कच्ची घरमा बसेका हामी मजदुर कमाएर कहिले पक्की घरमा बस्ने टुङ्गो नै छैन ।” उनले समयक्रमअनुसार मजदुरहरुको ज्याला पनि वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए ।

Logo