काठमाडौं महानगरद्वारा ‘सिप मेला’ सुरु, २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य

काठमाडौं महानगरद्वारा ‘सिप मेला’ सुरु, २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य

केन्द्रबिन्दु
56
Shares

काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताइन् । ‘तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’उनले भनिन् ।

महानगरका अनुसार शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने महानगरको योजना छ ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । जसमा अटो मोवाइल्स क्षेत्रदेखि सिकर्मी, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, टेक्नोलोजी, पुरोहितलगायत क्षेत्र समावेश छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरको छ ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको महानगरले जनाएको छ ।

Logo