काठमाडौं । मकवानपुरमा निर्माण भईरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाका ठेकेदारमाथि कारवाहीको चेतावनी दिईएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् । आयोजना निर्माणस्थलको अनुगमनमा पुगेका घिसिङले ठेकेदारले काम नगरेको भन्दै कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको छ ।
कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् । ‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’, उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिए । ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अपराध के हुन सक्छ ?’ घिसिङले आक्रोशित मुद्रामा प्रश्न गरे ।
कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिनेछ । कम्पनीले श्रमिकहरुलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ ।
प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।
प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको छ । कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ । त्यसपछि ५ सय मिटर तार तान्नु पर्नेछ । ठेकेदार कम्पनीले यो काम एक हप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
कुलेखानी तेस्रो नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।
विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गरिने भएको छ । कुलेखानी तेस्रोको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको हो । आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् ।





























प्रतिक्रिया